अबदेखि नयाँ लुगा लगाएन भनेर कचकच नगर्नू: महावीर पुन

0
113
महावीर पुन

काठमाडौं, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महवीर पुन आविष्कार केन्द्रमा सामान जुटाउन सहयोगीहरूको विवरण, केन्द्रबाट गरिने सहयोगसँगै उनले फेसबुकमा व्यक्तिगत जीवनका सुख दु:ख पनि आफ्ना शुभेच्छुकलाई सुनाउँछन्।आइतवार नयाँ सुट, पाइन्ट र सर्ट हातमा पर्दा महावीर पुनले ती दिन सम्झिए। बुवाले झोलाभरी सरसामानको बीचमा मिठाइ र नयाँ लुगा ल्याइदिने गरेको समयमा पुगे उनी।

‘नोस्टाल्जिक भइयो। दशैंको लुगा पाएझै लाग्यो’, उनले भने। कहाँबाट कसले दियो खुलाउन चाहेनन्। तर, त्यो खुशी फेसबुकमार्फत् साटे। फोटोसहित। जसमा उनी नयाँ सुट, पाइन्टमा ठाँटिएका छन्। त्यो सुट उनको जीवनको दोस्रो सुट हो। पोस्टमा यी वैज्ञानिक डाक्टरले आफूले ४५ वर्षपछिको दशैंमा नयाँ लुगा पाएको जनाएका छन्। लेखेका छन्,’यो कपडा मलाई नै नापेर सिलाइ दिएका हुन्। पूरानो जडौरी होइन।‘ सधैं आफूलाई चिटिक्क परेर नहिँडेको गुनासो पोख्ने साथीहरूका लागि नयाँ लुगासहितको फोटो ‘सर्पाइज’ भएको बताए।

उनले दशैंको समयमा ‘नयाँ लुगा’ भन्दै पोस्ट सेयर गरेपनि पर्व विशेष कुनै योजना छैन उनको। कोभिड-१९ नियन्त्रणका लागि नयाँ नयाँ आविष्कार र उत्पादनमा व्यस्त छन् उनी।अघिल्ला वर्षहरूमा उनी चितवन जान्थे। त्यहाँ उनका भाइहरूको परिवार छन्। टिका लगाउथे। आशिर्वाद दिन्थे। यो वर्ष भने आशिर्वादभन्दा महत्वपूर्ण – सुरक्षा सामाग्री एवं स्वास्थ्य सेवासँग जोडिएका उपकरणहरू बनाउनु भएको उनको विचार छ। त्यसैले उनकै नेतृत्वमा स्थापित राष्ट्रिय आविष्कार केन्द्र दशैंको समयमा पनि खुला रहनेछ।

हाल केन्द्रले स्वास्थ्यकर्मी एवं अन्य फ्रन्टलाइनरहरूलाई पीपीई, फेससिल्ड, आइसियूमा खट्ने स्वास्थ्यकर्मीका लागि पावर्ड एयर प्युरिफाइङ रेस्पिरेटर (पापर मास्क) उपलब्ध गराउँदै छन्। त्यस्तै भेन्टिलेटरमा राखिएको कोरोना संक्रमितका लागि आइसोलेसन हुड, संक्रमितलाई स्वास प्रस्वासमा समस्या देखिएको खण्डमा प्रयोग गरिने कन्टिनियस पोजेटिभ एयरवे प्रेसर थेरापी (सीपीएपी) वा बाइलेभल पोजेटिभ एयरवे प्रेसर (बिप्याप) मेसिन २५ थान पनि केन्द्रबाट उपलब्ध गराउन सक्ने बताए। कोरोना भाइरस संक्रमितको मृत्यु भएमा शव राख्ने ब्याग समेत उपलब्ध भएको जानकारी दिए।भने,’मान्छे रहे न पर्व पनि सुखद् हुन्छ। त्यसैले यो वर्ष आविष्कार केन्द्र दशैंभर पनि चौबिसै घण्टा खुला राख्ने घोषणा गरिसकेका छौं।‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here